आक्रमणकारीलाई पक्राउ गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालयमा धर्ना

भक्तपुर, १९ वैशाख– मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठलाई गत ८ गते शनिबार आक्रमण गर्ने आक्रमणकारीलाई पक्राउ गर्न माग गर्दै आज जिल्ला प्रशासन कार्यालय भक्तपुरमा धर्ना दिँदै घेराउ गरिएको छ ।

युवा संघ नेपाल, अखिल नेपाल महिला संघ, अनेरास्ववियु, जनप्रतिनिधि र स्थानीय बासिन्दाले आक्रमणकारीलाई पक्राउ गर्न माग गर्दै धर्ना दिएका हुन् ।

‘आक्रमणकारीलाई पक्राउ गर, जनतालाई सुरक्षाको प्रत्याभूति दे, कडा सुरक्षा व्यवस्था गर’ जस्ता नारा लेखिएका प्ले कार्ड बोकेर नाराबाजी गर्दै उनीहरु जिल्ला प्रशासन कार्यालयअगाडि धर्नामा बसेका हुन् ।

धर्नापछि युवा संघ नेपालका केन्द्रीय अध्यक्ष रमेश पौडेलले प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलको कार्यकक्षमा गएर सुरक्षाको माग गर्दै घटना भएको ११ दिनसम्म पनि आक्रमणकारी पक्राउ नपर्नुले अपराधीलाई थप मनोबल पुगेको बताउनुभयो ।

राजनीतिक खोल ओढेर यो वा त्यो को नाममा एमालेका जनप्रतिनिधिमाथि शृंखलाबद्ध रुपमा आक्रमण भइरहेको आरोप लगाउँदै उहाँले भन्नुभयो, “आक्रमण हुने क्रम बढ्दै जान्छ भने युवा संघ हातमा दही जमाएर बस्दैन, देशमा आतंक फैलाउँछु भन्ने सोचेको हो भने त्यस्ता आक्रमणकारीसँग चोकचोकमा प्रतिवाद गर्न युवा संघ तयार छ ।”

संघका अध्यक्ष पौडेलले सरकारले जनप्रतिनिधि र जनताको सुरक्षा गर्न नसके युवा संघ जनताको सुरक्षाका लागि सडकमा ओर्लने बाध्य हुने बताउँदै “जनप्रतिनिधिलाई आक्रमण गर्ने र जनतालाई आतंकित पार्न कसैले खोज्छ भने, जुनसुकै संगठनका र जो सुकै भए पनि युवा संघ अब चुप लागेर बस्दैन, त्यसको प्रतिवाद गर्छ भन्नुभयो ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here