काठमाडौं, १८ फागुन – पाकिस्तानी प्रधानमन्त्री साहिद खकान अब्बासी सोमबार नेपालको दुईदिने भ्रमणमा आउन लाग्नुभएको छ । उहाँ सोमबार नेपाल आउने र मंगलबार फर्कने उच्च सरकारी स्रोतले जानकारी दिएको छ । तीन साताअघि प्रधानमन्त्रीमा नियुक्त केपी शर्मा ओलीलाई बधाई दिन उहाँ नेपाल आउन लाग्नुभएको हो ।
पाकिस्तानी प्रधानमन्त्रीले नेपाल भ्रमणको क्रममा प्रधानमन्त्री ओलीसहित शीर्ष राजनीतिक नेतृत्वसँग भेट गर्ने बताइएको छ । यद्पी परराष्ट्र मन्त्रालयले भने पाकिस्तानी प्रधानमन्त्रीको भ्रमणको विषयमा आधिकारिक धारणा सार्वजनिक गरेको छैन् । यसैबीच पाकिस्तानी प्रधानमन्त्री अब्बासीले नेपाल बसार्इका क्रममा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको शिखर सम्मेलन आयोजनाको विषयमा समेत छलफल गर्ने अपेक्षा गरिएको छ ।
नेपाल सार्कको अध्यक्ष राष्ट्र हो । सन् २०१६ मा पाकिस्तानमा हुने भनिएको शिखर सम्मेलन भारत सहभागि नहुने भएपछि स्थगित भएको छ । ओली प्रधानमन्त्री भएपछि नेपाल भ्रमण गर्ने अब्बासी पहिलो विदेशी सरकार प्रमुख हुने छन् ।

