अाज माघे संक्रान्ति पर्व, टुँडिखेलमा विशेष कार्यक्रम

काठमाडाैं, १ माघ – आज माघे संक्रान्ति पर्व मुलुकभर मनाईदैछ । आजदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले माघे संक्रान्तिलाई मकर संक्रान्ति पनि भन्ने चलन छ ।

विशेषगरी आज नदी तथा तालतलाउमा स्नान गरी मन्दिरमा पूजाआजा गर्नुका साथै परिवार तथा आफन्त भेला भई घिउँ, चाकु, तरुल, सखरखण्ड, खिँचडी लगायतका परिकार खाने चलन छ । साउन १ गतेदेखि शुरु भएको दक्षिणायन अन्त्य भई माघ १ गतेदेखि नै उत्तरायण शुरु हुने भएकाले दिन भन्दा रात छोटा हुँदै जान्छन् ।

माघे संक्रान्तिको अवसरमा तनहुँको देवघाट, सुनसरीको बराहक्षेत्र, झापाको कन्काई, रिडी, काभ्रेको पनौती, दोलालघाट, नुवाकोटको देवीघाट, बर्दियाको ठाकुरद्वारा लगायत स्थानमा स्नान गर्नेको बिहानैदेखि घुइँचो लागेको छ ।

यसैबीच, माघे संक्रान्तिलाई थारु समुदायमा माघी पर्वको रुपमा मनाउने गरिन्छ । पश्चिम तराईका दाङ, बाँके, बर्दिया, कैलाली, कन्चनपुर लगायत जिल्लामा माघीको विशेष रौनक छ । थारु समुदायले गाउँको मुखिया चयन गर्ने, बार्षिक योजना बनाउने लगायत कार्य आजैदेखि गर्ने प्रचलन छ । माघी पर्वको अवसरमा काठमाडौंको टुँडिखेलमा माघी महोत्सव आयोजना गरिएको छ ।

पर्वको अवसरमा शुभकामना दिदै राष्ट्रपति विद्यादेवी भण्डारीले यस्ता पर्वले नेपालका विभिन्न जातजातीबीच आपसमा भाइचाराको सम्वन्ध वढाइ राष्ट्रिय एकता सुदृढ वनाउन मद्दत मिल्ने विश्वास व्यक्त गर्नुभएको छ । यस्तै उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतले पनि शुभकामना व्यक्त गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here