काठमाडौं, १९ असार–आगामी असार २३ गतेदेखि साउन ५ गतेसम्म मोफसलका चार सहरमा शैक्षिक मेला तथा शैक्षिक नीतिबारे बहस हुने भएको छ ।
विजनेस प्लस टेलिभिजनको मुख्य आयोजना तथा माउन्टेन टेलिभिजन र भक्तिदर्शन टेलिभिजनको सह–आयोजनामा हुन लागेको मेला विराटनगर, वीरगन्ज, धनगढी र नेपालगन्जमा हुनेछ ।
आयोजक संस्थाले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी पछिल्लो समय विभिन्न सङ्घसंस्थाले शैक्षिक मेला गर्ने गरेको भएपनि सबै मेला राजधानी केन्द्रित भएकाले आफूहरुले मोफसलमा मेला गर्न लागिएको बताएका हुन् ।
मेलाबारे जानकारी दिँदै विजनेस प्लस टेलिभिजनका प्रमुख कार्यकारी अधिकृत डम्बर साहुले मुलुक सङ्घीयतामा गइसकेको अवस्थामा शैक्षिक कार्यक्रमलाई पनि राजधानी केन्द्रित गर्न नहुने बताउनुभयो ।
आगामी असार २३ र २४ गते विराटनगरको होटल एसियाटिक, असार २७ र २८ गते वीरगन्जको जैन धर्मशाला, असार ३१ र साउन १ गते धनगढीको ओम पार्टी प्यालेस र साउन ४ र ५ गते नेपालगन्जको सिद्धार्थ कटेजमा मेला सम्पन्न गरिनेछ । हरेक मेला स्थलमा विभिन्न कलेज तथा विश्वविद्यालयलगायत करिब ४५ शिक्षण संस्थाको सभागिता रहनेछ । मेलामा करिब १५ हजार विद्यार्थीको सहभागिता रहने अनुमान गरिएको छ ।
बरिष्ठ शिक्षाविद् प्रा डा विद्यानाथ कोइरालाले पनि मेला आयोजना गर्नु अत्यन्तै खुसीको कुरा भएको बताउँदै मुलुक सङ्घीयतामा गइसकेको हुनाले शैक्षिक कार्यक्रमलाई पनि विकेन्द्रीकरण रहेको धारणा राख्नुभयो । मेलामा सहभागी हुन चाहने विद्यार्थीले प्रवेशका लागि कुनै शुल्क तिर्नु पर्दैन ।

