अविरजात्रा सहित फर्किन राधा गाउँमा

काठमाडौं,१८ चैत–  फागुन २४ गते बोक्सीका आरोपमा कुटपिट गरिएकी कैलालीको घोडाघोडी नगरपालिका-५ देउकलियाकी राधा चौधरी शुक्रबार आफ्नो घर फर्किएकी छन्। उनलाई उनकै गाउँका भोलेबाबा भनिने रामबहादुर चौधरी, पार्वती भनिने स्मारिका चौधरीले बोक्सीको आरोपमा कुटपिट गरेका थिए। २३ दिनको धनगढी बसाईपछि राधालाई केही संस्थाको पहलमा गाउँ फर्काइएको हो।

देउकलिया गाउँका भल्मन्सा राजाराम चौधरी सहितका गाउँका गन्यमान्य व्यक्तिले राधालाई गाउँ फर्काउन सहयोग गरेका छन्। उनलाई शनिबार कार्यक्रम गरी गाउँमै अविरजात्रासहित अभिनन्दन गरिएको छ।

थारु समुदायमा भलमन्सा अथवा थारु समुदायका मुखीलाले भनेको मान्नै पर्ने र नमान्नेलाई सामाजिक बहिस्कार गर्ने चलन छ। गाउँका भलमन्साले नै राधालाई अभिनन्दन गराएपछि उनीमाथि कुटपिट भएको बेलाका तमासा हेर्नेहरु पनि सहभागी थिए।

स्थानीय राष्ट्रिय माविको परिषरमा शनिबार राधा चौधरीको अभिनन्दन गरिएको हो। भलमन्सा राजाराम चौधरीको अध्यक्षता र राष्ट्रिय मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीतबहादुर चौधरीको प्रमुख आथित्यमा राधालाई अभिनन्दन गरिएको भलमन्सा राजाराम चौधरीले बताए।

‘स्थानीयले अब सामूहिक रुपमै रुढीवादी परम्पराविरुद्ध लड्ने प्रण गरेका छन्, राधालाई कुटपिट भएको दिन तमासा हेर्नेहरु पनि कार्यक्रममा उपस्थित थिए, उनीहरुले पनि गाउँमा अब त्यस्तो घटना दोहोरिन नदिने प्रतिबद्धता जनाएका छन्’, भलमन्सा राजाराम चौधरीले भने।

राधाको घटनापछि पक्राउ परेका पाँच जनाका कारण गाउँमा केही मनमुटाव भएको छ। ‘हाम्रो उद्देश्य गाउँको त्यो मनमुटाव कम गरेर मेलमिलापको वातावरण सिर्जना गर्ने पनि हो’, राष्ट्रिय माविका व्यवस्थापन समितिका अध्यक्ष जीतबहादुर चौधरीले भने, ‘सबैको हातेमालोले मात्रै समाज परिवर्तन हुने भएकाले सबै एकजुट हुनुपर्छ।’

यसअघि ओरेक नेपाल, जिल्ला प्रशासन कार्यालय कैलाली र मान्छे बोक्सी हुदैन अभियानले राधालाई गाउँमै लगेर अभिनन्दन गरेको थियो। त्यतीबेला देउकलियाको राष्ट्रिय माविमै भेला भएका आफ्ना गाउँले देखेर बोल्न नसकेर भक्कानिएकी राधाले शनिबार भने आफ्नो जस्तो पीडा गाउँका अरु कुनै चेलीले भोग्न नपर्नेमा सचेत हुन आग्रह गरिन्।

‘सबैमा बोक्सी हुँदैन भन्ने चेतना दिन आवश्यक छ, अब आफू पनि त्यो चेतना दिन लाग्नेछु’, राधाले भनिन्, ‘महिलाका पीडामा सबै महिला पुरुष एकजुट हुनुपर्छ।’ राधालाई ओरेक नेपालको संरक्षण गृहमा बोक्सी हुदैन भन्ने परामर्श दिइएको थियो। झण्डै १५ दिन लामो परामर्शपछि राधा गाउँमा गएर बोल्न सक्ने भएकी हुन्।

‘राधामा अब ‘कन्फिडेन्ट’ आएको छ, उनले अब गाउँमा चेतना फैलाउने काम गर्ने बताएकी छिन्’, ओरेक नेपालकी कार्यक्रम संयोजक बिनु रानाले भनिन्। राधालाई गाउँका बासिन्दाले संकलन गरेको साढे चार हजार रकम पनि कार्यक्रममा हस्तान्तर गरिएको छ।नारी दिवसकै दिन बोक्सी आरोपमा युवतीमाथि अत्याचार (भिडियोसहित)

राधालाई बोक्सी आरोपमा कुटपिट गर्ने तीन जनालाई बोक्सीको आरोप र थप तीन जनालाई मतियारको रुपमा बोक्सी आरोप सम्बन्धी कसुर तथा सजाय ऐन र ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा चलाइएको छ।

भोलेबाबा भनिने रामबहादुर चौधरी, किस्मती भनिने किस्मत चौधरी र पार्वती भनिने स्मारिका चौधरीविरुद्ध बोक्साीको आरोप र ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता गरिएको छ। यस्तै चनकलाल चौधरी, वेदप्रसाद चौधरी र भोलेबाबाकी आमा सीतारानी चौधरीलाई मतियार भएको भन्दै मुद्दा दायर भएको छ।

बोक्सी आरोप सम्बन्धी कसुर तथा सजाय ऐनअनुसार दोषीलाई ५ देखि ८ वर्ष जेल सजाय र ५० हजारसम्म जरिवाना हुने प्रावधान छ। आजको अन्नपूर्णमा खबर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here