अराजक बन्दै मोर्चा, मधेश आन्दोलनप्रति अमेरिकाको चासो

काठमाडौं,२४ फागुन– प्रहरीको गोली लागेर सप्तरीमा चार कार्यकर्ताको मृत्यु भएपछि त्यसको बिरोधमा उत्रिएका मधेसी मोर्चाले तोडफोड तथा आगजनी गरेका छन् ।

आज बिहानै देखि उनीहरुले आन्दोलन हिंसात्मक बनाउँदै लगेका छन् । मोर्चाका कार्यकर्ताले सिरहाको लहान स्थित नेकपा एमालेको लहान नगर पार्टी कार्यालयमा तोडफोड गर्नुका साथै आगजनी समेत गरेका छन् । कार्यालयभित्र रहेका फर्निचर र कागजपत्र सडकमा ल्याएर जलाएका हुन ।

मोर्चाका कार्यकर्ताहरुले एमालेविरुद्ध नाराबाजीसमेत गरिरहेका छन् । यस्तै राष्ट्रिय मानवअधिकार आयोग जनकपुर क्षेत्रीय कार्यालयको गाडी राजविराजमा तोडफोड भएको छ । आज बिहान घटनाको वास्तविकता बुझ्न आयोगको टोली राजविराज पुगेको थियो । आयोग अधिकारी चढेको बा ५ च ७४७३ नम्बरको गाडी मोर्चा कार्यकर्ताले सप्तरी जिल्ला अदालत अगाडि तोडफोड गरेका हुन् ।
मोर्चाले आहृवान गरेको मधेस बन्दले मध्य तराईको जनजीवन सामान्य रुपमा प्रभावित भएको छ । मध्य तराईका बिभिन्न शहरमा मोर्चा कार्यकर्ताले भाटासहित घरेल्ु हातहतियार लिएर जुलुस निकालेका छन् भने केहि सवारीमा पनि तोडफोड गरेका छन् । बन्दका कारण धनुषाको जनकपुर, ढल्केवर क्षेत्रमा मोर्चा कार्यकर्ताको बाक्लो उपस्थिति देखिएको हाम्रा सहकर्मीहरुले जनाएका छन् ।
मोर्चाका कार्यकर्ताले सशस्त्र प्रहरीको चेकपोस्टमा आगजनी गरेका छन् । सप्तकोशी ब्यारेजको पश्चिमी गेटमा रहेको चेकपोस्टमा मोर्चा कार्यकर्ताले आगजनी गरेका हुन्। आगजनीबाट चेकपोस्ट ध्वस्त भएको प्रहरीले जनाएको छ । मधेसी मोर्चाका कार्यकर्ताले राजविराज ६ स्थित स्थानीय शान्ति समितिको कार्यलयमा आगजनी गरेका छन् । आन्दोलनकारीहरु तोडफोडमा उत्रिएपछि प्रहरीले भिड नियन्त्रणमा लिन केही सेल अश्रुग्यास प्रहार गरेको छ ।
सप्तरी घटनाप्रति अमेरिकाको चासो,
अमेरिकाले सप्तरी घटनाप्रति चासो ब्यक्त गरेको छ । नेपालस्थित अमेरिकी दूतावासले आज विज्ञप्ति जारी गर्दै सप्तरीमा प्रदर्शनकारीहरूको मृत्यु हुने गरी भएको घटनाले गम्भीर चिन्ता तुल्याएको भन्दै अधिकतम संयमता अपनाउन सुरक्षाकर्मी र अहिंसात्मक रूपमा लोकतान्त्रिक प्रक्रियामा संलग्न रहन आन्दोलनरत दलहरूलाई आग्रह समेत गरेको छ ।
संविधान कार्यान्वयन गर्ने र मुलुकका सबै स्थानमा उत्तरदायित्व तथा जवाफदेहिता सुनिश्चित गर्ने दिशा तर्फ केन्द्रित हुनु पर्नेमा पनि जोड दिइएको छ । त्यस्तै नेपाली जनता लोकतान्त्रिक मार्गमा अगाडि बढ्दै गर्दा अमेरिका सबै नेपालीहरूसँग सहकार्य गर्न प्रतिबद्ध रहेको समेत जनाइएको छ ।
एमालेको मेची महाकाली अभियानमा अवरोध गर्न खोज्ने मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा ३ जना प्रदर्शनकारीको मृत्यु भएको थियो भने झन्डै दुई दर्जन घाइते भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here