काठमाडौं, १९ फागुन – स्टील र आल्मुनियममा आयात शुल्क बढाउने अमेरिकी निर्णय प्रति अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफले आलोचना गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्य देशबाट खरिद गरिएका स्टिल र आल्मुनियममा कर लगाउने निर्णय अघि सारेपछि आईएमएफले स्वयं अमेरिकालाई पनि क्षति पुर्याउने भन्दै चेतावनी दिएको बीबीसीले जनाएको छ । ट्रम्प प्रशासनले अन्य देशबाट खरिद गरिएका स्टिलमा २५ प्रतिशत र आल्मुनियममा १० प्रतिशत आयात शुल्क बढाउने निर्णयप्रति आईएमएफले आलोचना गरेको हो ।
स्टील र आल्मुनियम सबै भन्दै बढी निर्यात गर्ने क्यानडाले समेत अमेरिकाको सो कदमले दुबै पक्षलाई हानी पुर्याउने बताएको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले अमेरिकी राष्ट्रपति ट्रम्प/ स्टिल र आलमुनियम आयातमा कर बढाउने आफ्नो योजना अनुसार अघि बढे त्यसले गम्भीर क्षति व्यर्होनु पर्ने चेतावनी दिनु भएको छ । ट्रम्पको प्रस्तावलाई अस्वीकार्य गर्दै ट्रुडोले क्यानडाले आफ्ना उद्योगहरू जोगाउने बताउनु भएको छ ।
अमेरिकाले राष्ट्रिय सुरक्षा सर्तकता बढाउन व्यापार नीतिमा कडाई गर्न यस्तो योजना ल्याएको आंकलन गरिएको छ । यसैबीच, विश्व व्यापार संगठनले समेत व्यापारिक युद्ध कसैको हितमा नभएको बताएको छ । यसअघि, ट्रम्पले व्यापारका क्षेत्रमा गरिने युद्ध सही भएको बताउनुभएको थियो । –एजेन्सी

