वीरगंज, १२ मङ्सिर । नेपाल र भारत सरकारको प्राथमिकतामा रहेको मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजना कार्यालय सिमराका अनुुसार नेपालतर्फको ३९ दशमलब दुई किलोमिटर भू–भागमध्ये २१ किलोमिटर क्षेत्रमा जमीनमुनि पाइप बिछ्याउने काम सम्पन्न भइसकेको छ ।
तीव्र गतिमा बाँकी काम भइरहेकाले बढीमा तीन महीनाभित्र काम सम्पन्न भई भारत बिहारको राजधानी पटनाबाट पाइप लाइनमार्फत पेट्रोलियम पदार्थ ल्याउन सकिने बताउनुहुन्छ परियोजना कार्यालय सिमराका इञ्जिनीयर शरदप्रसाद पौडेल ।
नेपालतर्फ अब १८ दशमलब दुई किलोमिटर पाइप बिछ्याउने काम बाँकी रहेको छ । बाँकी रहेको भू–भागमध्ये पर्सा राष्ट्रिय निकुञ्जमा आठ किलोमिटर, नाला स–साना पुल–पुलेसा, नदी, क्रसिङ सडक, गण्डक क्षेत्रमा पाइप लाइन बिछ्याउन बाँकी रहेको छ । निकुञ्जभित्र रहेको करीब पाँच हजार रुख काटने काम निकट भविष्यमै हुने तथा भारतको मोतिहारीदेखि रक्सौलसम्म ३३ दशमलव ७ किलोमिटरमध्ये मोतिहारी रक्सौल क्षेत्रमा टुक्राटुक्री काम बाँकी रहेको परियोजनाको कार्यालय सिमराले जनाएको छ ।
नेपाल–भारत सीमा क्षेत्रको वीरगञ्ज भन्सारस्थित रजत जयन्ती चोक वाइपास क्षेत्रमा समेत पाइप बिछ्याउने काम सम्पन्न भइसकेको छ । जीतपुर परवानीपुर क्षेत्रमा करीब दुई किलोमिटर क्षेत्रमा बाधा अवरोध आएकाले सो क्षेत्रमा बोरिङ प्रविधिमार्फत पाइप गाड्ने काम भइरहेको पनि परियोजनाका इञ्जिनीयर पौडेलले जानकारी दिनुभयो ।

