सोमबार बिहान बालुवाटार बैठकमा प्रधानमन्त्री पुष्मकमल दाहाल प्रचण्डसँग मधेसी नेताहरुले तीव्र असन्तुष्टि व्यक्त गरेका छन्। सङ्घीय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन नगरी चुनावमा जाने हो भने सरकारलाई समर्थन गर्नुको औचित्य समेत सकिने चेतावनी दिए।
‘कांग्रेस, एमाले, माओवादी भनेको तीन फरक पार्टी भए पनि तपाईंहरु एउटै हो,’ यादवको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले नेपालखबरलाई भने, ‘तपाईंहरु आखिर एकै ठाउँ हुनुहुन्छ। अब हामीसँग लोलोपोतो गर्नुको अर्थ पनि छैन। बरु आफ्नो आफ्नो बाटो लागौं। हामीले सरकारलाई समर्थन गरेको औचित्य पनि सकिँदैछ।’
सरकारले संविधान संशोधनको प्रक्रिया अघि बढाउने र चुनावको तयारी थाल्ने प्रस्ताव राखेपछि मधेसी मोर्चाका नेताहरु तीव्र आक्रोसित भएका हुन्।
बैठकमा तमलोपा अध्यक्ष महन्थ ठाकुरले संविधान संशोधन विधेयक परिर्माजनसहित पास नभएसम्म चुनावमा नजाने विचार व्यक्त गरे। उनले एमाले बिनाको संशोधनको पनि अर्थ नहुने बताए।
अध्यक्ष ठाकुरले अब आफूहरु आन्दोलनमा जाने भन्दै त्यस्तो बेला सेना र प्रहरीबाहेक कुनै पनि कार्यालय मधेसमा चल्न नदिने चेतावनी समेत दिएको एक नेताले बताए।

