अब काठमाडौंका विभिन्न सडकमा मालवाहक सवारी साधन संचालन तथा प्रवेशमा रोक

काठमाडौं,१७ जेठ । यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनको लागि दिउँसोको समयमा विभिन्न सडकमा मालवाहक सवारी साधन संचालन तथा प्रवेशमा रोक लगाउने भएको छ।

बिहिबार यातायात व्यवस्था विभागका महानिर्देशक कुमार दाहालको संयोजकत्वमा बसेको बैठकले सार्वजनिक विदाको दिन बाहेक बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म आपतकालीन र अत्यावस्यक सेवामा प्रयोग भएका बाहेक अन्य सबै प्रकारका मालवाहक सवारी साधनलाई संचालन तथा प्रवेशमा रोक लगाउने निर्णय गरेको हो। विभागले असार १ गतेदेखि निर्णय कार्यान्वयन गराउन ट्राफिक निर्देशनालयलाई पत्र समेत काटेको विभागका महानिर्देशक कुमार दाहालले जानकारी  दिनुभयो ।

दाहालका अनुसार काठमाडौं र ललितपुरको चक्रपथ भित्रका सबै क्षेत्र, भक्तपुरको भित्री शहरी क्षेत्र, काठमाडौं तथा ललितपुरका चक्रपथ बाहिरका चावहिल–जोरपाटी सडक, गोपिकृष्ण – कपन सडक, नारायण गोपाल चोक –बुढानिलकण्ठ सडक, बसुन्धारा क्षेत्र, सामाखुसी–ग्रण्डी अस्पताल सडक, बालाजु बाइपास –गोल ढुङ्गा सडक, कलंकि–थानकोट सडक, बागडोल–नक्खु सडक, सातदोबाटो–हरीसिद्धी सडक, ग्वार्को –चापागाउँ सडकमा बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म मालवाहक सवारी साधनलाई संचालन गर्न पाइने छैन।

संसारको धेरै राजधानीमा यो व्यवस्था भएका कारण ट्राफिक व्यवस्थापनमा सहजता आएको कारणले यहाँ पनि लागू गर्न लागिएको दाहालले बतानुभयो । ‘साना ठेलागाडा, पावर टिलर, साना टिप्पर लगायत मालवाहक सवारी साधनले गर्दा दिउँसो ट्राफिक व्यवस्थापनमा समस्या आउने गरेको छ।

अब यस्ता सवारी साधन बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म संचालन गर्न पाइँदैन,’ दाहालले सेतोपाटीसँग भने। पानी, औषधि, दमकल, फोहोर लगायतका आपतकालीन र अत्यावस्यक सेवाका सवारी साधनलाई भने कुनै रोक नहुने दाहालले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here