काठमाडौँ, ७ असार । कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले नेपाललाई स्वस्थ आध्यात्मिक एवं योग केन्द्रको रुपमा विकसित गर्दै लैजान सरकारले पहल गर्ने बताउनुभएको छ ।
चौथो अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पतञ्जलि योगपीठले आज बिहान राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जमा गरेको कार्यक्रममा उहाँँले आम जीवन पद्धतिका रुपमा योगको महत्वलाई उजागर गर्दै स्वस्थ नागरिक तयार पार्नका लागि नेपाललाई योग केन्द्रको रुपमा विकसित गर्दै जाने बताउनुभयो ।
रक्षामन्त्रीसमेत रहनुभएका कावा प्रधानमन्त्री पोखरेलले योगको लोकप्रियता बढेर अहिले शैक्षिक संस्थाले पनि अतिरिक्त क्रियाकलाप तथा औपचारिक विषयका रुपमा पठनपाठन र अभ्यास गराउन थालेको बताउनुभयो ।
उहाँले शारीरिक अभ्यास, उपचार पद्धति, योग शिक्षा, धार्मिक एवं आध्यात्मिक चेतना विकास तथा विश्वव्यापी सहकार्य, सामञ्जस्यजस्ता योगका आयामलाई सन्तुलित रुपमा जीवन पद्धति नै बनाउने कार्यमा यस दिवसले प्रेरणा दिएको समेत धारणा राख्नुभयो ।
भारतले सन् २०१४ मा संयुक्त राष्ट्र संघको ६९ औँ महासभामा जुन २१ अर्थात आजकै दिनलाई विश्वयोग दिवसको रुपमा मनाउने प्रस्ताव गरेको थियो र उक्त प्रस्ताव अत्यधिक बहुमतका साथ १७५ सदस्य राष्ट्रले अनुमोदन गरेका थिए । त्यसैबेला देखि नै योगलाई अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाउन थालिएको हो ।

