लहान, २२ फागुन-अन्तःशुल्कको नक्कली स्टिकरसहित प्रहरीले पक्राउ गरेका तीनजनालाई आन्तरिक राजश्व कार्यालय लहान सिरहाले आज बिगो बमोजिमको जरिवाना तिराएर रिहा गरेको छ ।
नक्कली स्टिकरसहित पक्राउ परेका लहान नगरपालिका–८ निवासी सुमितचन्द्र देव, लहान नगरपालिका–५ निवासी आनन्द साह र लहान नगरपालिका–३ निवासी सत्यनारायणलाई स्टिकरवापतको बिगो कायम गरी सो बमोजिमको जरिवाना तिराएर रिहा गरेको आन्तरिक राजश्व कार्यालय लहान सिरहाका प्रमुख गोविन्दप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
अन्तःशुल्क ऐन, २०५८ अनुसार तीनैजनामाथि मुद्दा चलाइएको र सोही ऐनअन्तर्गत बरामद भएको स्टिकरको बिगो कायम गरी जरिवाना तिराएर तत्कालका लागि रिहा गरिने निर्णय लिइएको प्रमुख अधिकारीले बताउनुभयो ।
सिरहाको लक्ष्मीपुर पतारीस्थित इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले आइतबार अन्तःशुल्कको नक्कली स्टिकरसहित सुमितचन्द्र देव र लहान–५ का आनन्द साहलाई पक्राउ गरेको थियो । पक्राउ परेका दुवैजनाको बयानका आधारमा प्रहरीले लहान नगरपालिका–३ निवासी सत्यनारायण साहलाई पनि सोही दिन पक्राउ गरेको थियो ।

