अध्यादेशलाई विधेयकको रुपमा जस्ताको त्यस्तै ल्याउन नसकिने–मन्त्री पोखरेल

काठमाडौँ, २६ असार- शिक्षा तथा विज्ञान प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय चिकित्सा शिक्षा सुधारसम्बन्धी विषय डा केसीको मात्र मुद्दाको रुपमा नभई सबैको चिन्ता र चासोको विषय भएको बताउनुभयो ।

नेपाली काँग्रेसले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ तत्काल सदनसमक्ष प्रस्तुत गरियोस् भनी राष्ट्रियसभामा राखेको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि सांसदहरुले उठाउनुभएको जिज्ञासाको जवाफ दिँदै उहाँले चिकित्सा शिक्षाको विषय नकारात्मक परिस्थितिको पराकाष्ट भएको बेलामा माथेमा कार्यदलको प्रतिवेदन आएको जानकारी दिनुभयो ।

मन्त्री पोखरेलले भन्नुभयो, “यथार्थवादी हौँ, सही ढंगले अघि बढौँ, आयोग बनाएर समस्या समाधान गरौँ भन्ने विषयलाई हामी सबैले विश्वास गरौँ, यति बेलामा अनशनमा बस्ने बेला होइन, अहिले परिस्थिति फरक भएको छ, डा केसीजस्ता व्यक्ति अनशन होइन, आयोगमा बसेर काम गर्न आवश्यक छ, हठका आधारमा होइन विधि र विवेक प्रयोग गरेर समाधान खोज्नुपर्छ ।”

नेपालको चिकित्सा शिक्षा र स्वास्थ सेवा सुधार एवं विकासको लागि माथेमा कार्यदलले दिएको सुझाव कोशेढुंगाका रुपमा रहने बताउँदै मन्त्री पोखरेलले तर अध्यादेशलाई विधेयकको रुपमा जस्ताको त्यस्तै भने ल्याउन नसकिने स्पष्ट गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here