अध्यक्ष गौचनको हत्यामा संलग्न भएकाे आशंकामा १८० जना प्रहरी नियन्त्रणमा

काठमाडौं,२४ असोज– निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यापछि प्रहरीले उपत्यकाबाट १८० जनालाई नियन्त्रणमा लिएको छ । काठमाडौं, ललितपुर र भक्तपुरबाट गरी प्रहरीले शंंकापस्द व्यक्तिलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी आयुक्त कार्यालयले जनाएको छ ।
महासंघका अध्यक्ष गौचनको अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेपछि प्रहरीले उपत्यका भित्रिने नाका शिल गरी चेकजाँचका क्रममा उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले काठमाडौंबाट १ सय ५३ जना, ललितपुरबाट २४ जना र भक्तपुरबाट तीन जनालाई नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएकालाई आवश्यक सोधपुछ भइरहेको कार्यालयका प्रमुख एआईजी जयबहादुर चन्दले जानकारी  दिनुभयो ।
यसैबिच, नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रामशरण देउजाले अध्यक्ष गौचनको हत्यामा संलग्नलाई सरकारले तत्काल पक्राउ गरी सार्वजनिक नगरे आन्दोलनको घोषणा गर्ने चेतावनी दिनु भएको छ ।
भक्तपुरमा आयोजित कार्यक्रम मार्फत महासचिव देउजाले भोलीसाँझसम्म सरकारले आफना मागहरु पुरा नगरे, देशभर आन्दोलन गर्ने र विकास निर्माण लगायतका कामहरु ठप्प पार्ने जानकारी दिनुभयो ।
अध्यक्ष गौचनको हत्यासँगै महासंघका अन्य पदाधिकारीलाई पनि अज्ञात नम्बरबाट धम्कीपूर्ण शैलीमा पैंसा माग्दै टेलिफोनहरु आईरहेका कारण महासंघका अन्य पदाधिकारीहरु पनि असुरक्षित रहेको उहाँले बताउनुभयो ।
यस्तै, नेकपा एमालेले नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष सरदकुमार गौचनको हत्यारालाई पक्राउ गरी कडा भन्दा कडा कार्वाही गर्न सरकारसँग माग गरेको छ ।

एमाले स्थायी समितिको आज बसेको बैठकले अध्यक्ष गौचनको हत्याप्रति घोर निन्दा र भत्सर्ना गर्दै अपराधिहरुलाई पक्राउ गरी तत्काल कार्वाही गर्न सरकारसँग माग गरेको हो । गौचनको हत्याप्रति निन्दा गर्दै हत्यारालाई तत्काल पक्राउ गरी तत्काल कानुनी कार्वाही गर्न सरकारसँग माग गरिएको उपाध्यक्ष भीम रावलले जानकारी दिनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here