काठमाडौँ, ८ भदौ: प्रत्येक ५९ बालबालिकामध्ये एक जनामा मानसिक समस्या (अटिजम) हुने गरेकाले समयमै ध्यान दिनुपर्नेमा सम्बन्धित क्षेत्रका जानकारले जोड दिएका छन् ।
काठमाडौँ महानगरपालिका र अटिजम केयर सेन्टरले आज संयुक्तरुपमा आयोजना गरेको कार्यक्रममा सेन्टरको अध्यक्ष डा सुनिता मलेकु (अमात्यले) अटिजमको समस्या समाधानका लागि सरकारले समयमा नै ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले हरेक ५९ जना बालबालिकामध्ये एक जनामा अटिजम हुने गरेको तथ्य प्रस्तुत गर्नुभयो ।
कार्यक्रममा काठमाडौँ महानगरपालिकाको प्रमुख विद्यासुन्दर शाक्यले उक्त समस्या समाधानका लागि कामपाले सहयोग गर्ने बताउँदै सम्बन्धित विभागलाई सोही अनुरुप काम गर्न निर्देशन दिनुभयो ।
स्वास्थ्यसँग जोडिएको सबै समस्यालाई समाधान गर्न कामपा तयार रहेको भन्दै प्रमुख शाक्यले भन्नुभयो, “बालबालिका देशको खम्बा हुन उनीहरुमा यस किसिमको समस्या बढ्न नदिनु र यस्ता समस्याबाट पीडित भएका बालबालिको लागि सहयोग गर्छु ।”
शिशु जन्मिएपछि उमेरसँगै विकास हुनुपर्ने सामाजिक सीप विकास भएनन् भने त्यो अटिजम हो । उनीहरु दिमागमा भएको कुरा व्यवहारमा ल्याउन सक्दैनन् । त्यसैले यस प्रकारका हरेक एक व्यक्तिलाई एक सहयोगीको आवश्यकता पर्दछ ।

